आइतबार, असार २९, २०८२

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ हुने भएको छ। 

गत फागुन १५ गते फास्ट ट्र्याकबाट मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। काठमाडौं जिल्ला अदालतका अनुसार उनको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।  

यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ। यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेशमा छ। 

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो। 

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै सन्दीप दुवईमा क्रिकेट खेलेर फर्किएका थिए। 

सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। त्यतिबेला विदेशमा रहेका सन्दीप उजुरी परेको एक महिनापछि स्वदेश फर्किएका थिए। उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेर मुद्दाको अनुसन्धान गरेको थियो।

उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए। रिहाइपछि उनी देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय-अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन्।

प्रकाशित: Mar 27, 2023| 11:26 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्