काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग सामुदायिक रेडियो प्रसारक संघ पदाधिकारी र नेपाल बार एसोसिएसनका पदाधिकारीले भेटेर कार्यकाल सफलताको बधाइ दिएका छन्।
शनिबार शीतलनिवास पुगेका दुवै संस्थाका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय प्रमुख दायित्व र कर्तव्य हुने बताए।
उनले नेपालमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्नुपर्नेमा जोड दिए। नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न सामुदायिक रेडियोको दायित्व अहं रहेको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले सामुदायिक रेडियोका कारण गाउँ–गाउँसम्म आमनागरिकमा सूचनाको पहुँच पुगेको बताएको भेटमा सहभागी संघ अध्यक्ष अर्जुन गिरीले बताए।
यस्तै, नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा पौडेलले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत रहेको धारणा व्यक्त गरे।
भेटमा बार अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।