सोमबार, असार ३०, २०८२

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट गर्दा किसान चिन्तित 

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

गलेश्वर- शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ। 

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदेबाली नाश गरिदिएपछि किसान चिन्तित भएका हुन्। म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्‍याएको किसानले बताएका छन्।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताए। शुक्रबार ३ बजेतिर हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ। 

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ। भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र बालीका बिरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले बताए। 

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ। असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल बताउँछन्। अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उनले बताए।  जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषक भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ। सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ। 

विगत वर्षमा तीन/चार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्ष भने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन। जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक कृषकलाई समस्या भएको छ। बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक कृषकलाई समस्या भएको हो। समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानले बताएका छन्।

प्रकाशित: Mar 25, 2023| 07:04 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्