सोमबार, असार ३०, २०८२

एक सय ५० गोही राप्ती नदीमा छोडियो

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

चितवन- चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छोडिएको छ।

पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो। यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ।

यस वर्ष राप्ती नदीमा सौराहाघाटबाट ६०, कसराघाटबाट ७० र खगेन्द्रमल्ली नजिकैबाट २० गोही नदीमा छाडिएको हो। ती गोहीलाई यस आवको विभिन्न समयमा छाडिएको हो। सूचना अधिकारी तिवारीले भने, ‘थप २० गोही छाड्न मिल्ने अवस्थामा छन्, हामी केही दिनमा छाड्छौँ।’

गत आवमा एक सय सात गोही नदीमा छाडिएको थियो। प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ४२ गोही नदीमा छाडिसकिएको छ। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काए १९८१ बाट नदीमा छाड्न थालिएको हो।

प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ। हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ।

नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ। चैत-वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा संकलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ। हाल प्रजनन केन्द्रमा सात सयभन्दा बढी विभिन्न उमेरका गोही रहेका छन्।

प्रकाशित: Mar 25, 2023| 05:33 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्