सोमबार, असार ३०, २०८२

गाउँलेलाई चट्याङबाट जोगाउन बेंसीशहरमा 'अर्थिङ टावर' 

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

लमजुङ- गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीशहर नगरपालिका-३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ। अर्थिङ टावरको काम सबै स्थानीय बजारका प्राविधिकले गरेका थिए।

उपभोक्ता समितिका अध्यक्ष तथा बेँसीशहर नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अजय मजाकोटीले भने, ‘यहाँ चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न छ ठाउँमा अर्थिङ टावर निर्माण गरेका छौँ, थुम्काडाँडा क्षेत्रका विश्वकर्मा गाउँ, मालुवागाउँ, खेताघर टोल, पुर्काङगाउँ, बानियागाउँ, मौरतीगाउँमा अर्थिङ टावर राखिएको छ।’

अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पुर्‍याएर नष्ट गरिदिने भएकाले गाउँमा अर्थिङ टावर राखिएको मजाकोटीको भनाइ छ। उनले भने, ‘टावर निर्माण गरेसँगै यतिबेला ७५ घरका तीन सयभन्दा बढी स्थानीयसहित भौतिक संरचना र पशुपक्षी चट्याङबाट सुरक्षित बनेका छन्।’

तीस फिट अग्लो फलामे पाइपमा तामाको ‘एन्टिना’ राखेर भुइँमा चार फिट गाडेर उक्त टावर निर्माण भएको बताइएको छ। उक्त एन्टिनाबाट तामाको तार लगेर नुन र कोइलासँगै गाडिएको तामाको पातामा जोडेर अर्थिङ गरिएको छ।

नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, ‘अर्थिङ टावर निर्माणका लागि चालु आवमा दुई लाख बजेट विनियोजन गरेर निर्माणका लागि सहयोग गरेका छौँ, यतिबेला निर्माणसमेत सम्पन्न भइसकेको छ।’

नगरपालिकाको दुई लाखबाहेक अर्थिङ टावर निर्माणका लागि स्थानीयको नगद ५० हजार र ६० हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिले जनाएको छ। उक्त टावर निर्माणले चट्याङबाट हुन सक्ने क्षतिबाट केही सुरक्षित महसुस गरेको स्थानीयको भनाइ छ।

प्रकाशित: Mar 24, 2023| 12:56 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्