मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ५०० बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाइदिने गिरोह पक्राउ

५०० बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाइदिने गिरोह पक्राउ

प्रहरीको अपराध अनुसन्धान महाशाखाले काठमाडौंको बबरमहल क्षेत्रमा तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँच जनालाई पक्राउ गरेको हो। 
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं– नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले ५०० बढी तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउन सक्रिय गिरोहलाई पक्राउ गरेको छ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाले काठमाडौंको बबरमहल क्षेत्रमा तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँच जनालाई पक्राउ गरेको हो। 

बुधबार महाशाखाले तिब्बतीलाई नागरिकता दिलाउने गिरोहका नाइकेसहितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

’निश्चित रकमको चलखेल गरी सरकारी कार्यालयको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत कीर्ते गरी झुटा लिखत तथा नक्कली सिफारिस गरि गैरनेपाली व्यक्तिको सक्कलै नेपाली नागरिकता बनाइदिने गरेको भन्दै उजुरी परेपछि छानबिन थालेका थियौं। सोमबार बबरमहलबाट कृष्णबहादुर कटुवालसहित पाँच जनालाई पक्राउ गरिएको छ,’ महाशाखाको विज्ञप्तिमा भनिएको छ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक संस्थाका प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिस पनि बरामद गरेको छ।
गिरोहले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ सय बढी तिब्बतीयनलाई नागरिकता दिलाउन सफल भएको प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ परेका कटुवाल क्यान्टिन सञ्चालक हुन्। कटुवालसँगै न्युतकेश श्रेष्ठ र विजय लामा पक्राउ परेका छन्। उनीहरु पक्राउ परेपछि जिल्ला प्रशासनका कर्मचारीमाथि निगरानी थालेको प्रहरीले बताएको छ। 

पक्राउ पर्नेमा एक जना तिब्बतीयन शरणार्थी लोब्साङ ठिन्ले पनि रहेका छन्। उनले गत ३० फागुनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठिन्ले गुरुङको नामबाट काठमाडौं महानगर–१७ स्थायी ठेगाना राखेर २७–०१–७१–१५९०१ को नागरिकता लिएको खुलेको छ।

प्रकाशित: Mar 22, 2023| 14:46 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्