मंगलबार, असार ३१, २०८२

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङको पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। गएराति वर्षासँगै हिमपात भएको हो।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। गएराति वर्षासँगै हिमपात भएको हो।

सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा  हिमपात हुन थालेको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ। उनले भने, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु। सामान्य हिमपात हुने क्रम जारी छ। मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ।”

तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए। सामान्य हिमपात भएकाले पूजापाठ गर्ने क्रम चलिरहेको छ। अहिले करिब एक हजार पाँच सय भक्तजनले पूजापाठ गरिरहेको  समितिले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ। यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन्।

घुन्साका टाँसी छिरिङ शेर्पाका अनुसार करिब डेढ फिटसम्म हिउँ परेको छ। यस्तै ओलाङ्चुङगोलामा पनि हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो। ओलाङ्चुङगोलाकै याङ्मामा भने दुई फिटसम्म हिउँ परेको जनाइएको छ। चार हजार दुई सय मिटर उचाइ रहेको याङ् जिल्लाकै उच्च बस्ती हो।

यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे मिल्के जलजले क्षेत्रमा पनि हिमपात भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे गाउँको उच्च भागमा पनि हिमपात भएको स्थानीयले बताएका छन्।

ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक गत फागुन १५ गते हिमपात भएको थियो। गत वर्ष भने पुसको दोस्रो सातादेखि नै हिमपात हुन सुरु भएको थियो। यस वर्ष विगतका तुलनामा खासै हिमपात भएको छैन। 

यस वर्षको हिउँद मौसम बित्न लाग्दा हिमपात र वर्षा भएपछि किसान भने हर्षित भएका छन्। मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहतको महसुस गरेका हुन्। त्यस्तै नगदे बाली अलैँची, तरकारीलगायतका बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ। रासस 

प्रकाशित: Mar 21, 2023| 08:39 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्