आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दूधको मूल्य बढ्दा उपभोक्तालाई लिटरकै १३० रुपैयाँसम्म

दूधको मूल्य बढ्दा उपभोक्तालाई लिटरकै १३० रुपैयाँसम्म

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ।

संस्थानले बिहिबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै चार प्रकारको दूधको मूल्य ११ देखि १६ रुपैयाँसम्म बढाएको हो। निजी डेरी संगठनले यसअघि नै दूधको मूल्य बढाइसकेका छन्।  

'मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धी भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने बिहीबारबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दुध पाउनेछन्,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ। यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गरिनेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ। जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ। 

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए।

प्रकाशित: Mar 16, 2023| 07:20 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्