तम्घास- गुल्मीका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन्। सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
उक्त केन्द्रका प्रमुख डा. भरत काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन गरी रेसुङ्गा नगरपालिका-१ र २ मा दुई दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकांश मासु पसल दर्ता नगरिएको तथा दर्ता गरिएका पसल पनि नियमित नवीकरण नगरिएको भेटिएका उनले बताए।
अनुगमनका क्रममा मासु, तरकारी, दूध तथा फलफूल एकै ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको, मासु बिक्री गर्ने स्थान सफा नगरिएको, जाली तथा सिसा नलगाई मासुलाई खुल्ला रूपमा राख्ने गरेको भेटिएको थियो।
तेइस सूचकाङ्कलाई आधार मानी गरिएको निरीक्षणमा मापदण्ड विपरीत खोलिएका पसललाई पहिलो पटक सुधार गर्नका लागि तत्कालै निर्देशन दिइएको उनले बताए।
पसल सुधारका लागि आवश्यकमापदण्ड कायम गर्न र अनुगमनका क्रममा संलग्न प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रमुख काफ्लेले बताए।
अनुगमन टोलीले आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड नगर्न व्यवसायीलाई आग्रहसमेत गरेको थियो।
अनुगमन टोलीमा उक्त केन्द्रका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु, करदाता सेवा कार्यालय, नगरपालिका, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ र मासु व्यवसायी समितिका पदाधिकारीको प्रतिनिधित्व थियो।