कपिलवस्तु- पश्चिम तराईका १५ जिल्ला सिकलसेल एनिमिया रोगबाट प्रभावित रहेका देखिएको छ। आदिवासी जनजाति समुदायका मानिसमा धेरै देखिने सिकलसेल एनिमिया रोगबाट कपिलवस्तु, कैलाली, बर्दिया कञ्चनपुरलगायतका जिल्ला प्रभावित भएका छन्।
फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) ले धनगढीमा गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो।
संस्थाका पाठ्यक्रम निर्देशक प्रा.डा शुभेषराज कायस्थले केही वर्षअघि गरिएको एउटा सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतका रोगबाट पीडित देखिएको जानकारी दिए।
डाक्टरका अनुसार सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो। पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ। रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमाशय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पुर्याउँछ।
विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको डा. कायस्थले बताए। नेपालमा पहिलोपटक २०७१ सालमा सरकारले रोगीको उपचार व्यवस्थापनमा एक लाख रुपैयाँ बराबरको निःशुल्क सेवा दिने निर्णय गरेको थियो।
समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने डाक्टरको भनाइ छ।