मंगलबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारी वकिलले बुझे पृथ्वीबहादुर शाहविरुद्धको अनुसन्धान प्रतिवेदन

सरकारी वकिलले बुझे पृथ्वीबहादुर शाहविरुद्धको अनुसन्धान प्रतिवेदन

शाहसहितको समूहले वृद्ध अमेरिकी नागरिकलाई ठगेर पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ शंकास्पद रकम नेपाल भित्र्याएको सीआईबीको प्रतिवेदनले औंल्याएको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रुपमा नेपाल भित्र्याएको रकमबारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालमा बुझाएको छ।बुधबार सीआईबीले पत्रकार सम्मेलन गरेर शाहविरुद्धको अनुसन्धान सकिएको बताएको हो। 

अमेरिकाबाट ५ वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ नेपाल पठाइएको उक्त रकम शंकास्पद पाइएपछि शाहलाई २२ पुसदेखि प्रहरीले हिरासतमा राखेको छ।

शाहसहितको समूहले अधिकांश वृद्ध अमेरिकी नागरिकलाई ठगेर करोडौं रकम नेपाल भित्र्याएको प्रतिवेदनले औंल्याएको छ। बयानका क्रममा शाहले अवैध रुपमा अमेरिकाबाट रकम ल्याएको स्वीकारका छन्।

नेपाल घुम्न आउने पर्यटकलाई सहजीकरण गरिदिएबापत रकम प्राप्त भएको शाहले जिकिर गरेका छन्। अनुसन्धान सकिएसँगै शाहविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराध शीर्षका चार वटा कसुरमा मुद्दा अघि बढाउन लागिएको छ।

सीआईबीका अनुसार शाहविरुद्ध पीडित भनिएकाले २४ उजुरी हालेका थिए भने उनीबाट पीडितको संख्या ५६ रहेको खुलेको छ। पृथ्वीबहादुर र भाइ विजयविक्रम शाहले मिलेर संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ बढी कम्पनी स्थापना गरेको पनि सीआईबीले फेला पारेको छ।

‘ती कम्पनीको उद्देश्यविपरीत आधिकारिक निकायबाट अनुमति नलिई विदेशी लगानी भित्र्याएको पनि पाइएको छ’, सीआईबीले भनेको छ, ‘शाहले विदेशी नागरिकलाई एन्टीभाइरस अपडेट र अमाजोनको बिल भुक्तानीलगायत बहानामा सम्पर्क गरेको खुलेको छ।’

प्रकाशित: Mar 01, 2023| 15:43 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्